Monday, August 3, 2009

ढुंगे पँधेरीमा

रचनाः किशोर चाम्लिङ
स्वर/संगीतः- रत्न राई

पहिलो चोटि भेट भयो ढुंगे पँधेरीमा
फूलजस्तै फुल्यौ माया मनको मझेरीमा

गोठाला र खेतालामै बित्छ त्यसै दिन
मेलापातमै साँझ पर्छ छैन अचेल जून
जून बनी छायौ तिमी मनको अँधेरीमा
फूलजस्तै फुल्यौ माया मनको मझेरीमा

गाह्रो हुन्छ एक्लै खेप्न चर्को घामपानी
सुख-दुःख सँगै बाँचौ बाँकी जिन्दगानी
वसन्त भई छायौ तिमी मनको खडेरीमा
फूलजस्तै फुल्यौ माया मनको मझेरीमा ।
२०६३-३-१७

सुनकोशीमा

सुनकोशीमा बाढी आयो पुग्नु थियो धेरै टाढा
मैले हिड्ने बाटोभरि जताततै काँडै काँडा

अँधेरीमा भाले बास्यो अँध्यारै छ वारिपारि
पँधेरीमा मेरी आमा पुगिन् होली कसोगरी
नियतिले पिर्नु पिर्यो दुःखी जुनीमा
चाँडै फर्की आउँछु आफ्नै जन्मभूमिमा ।

भाग्य मेरो पहिरो गयो जिन्दगी भो एक्लो यात्री
चेली रुँदा तिहारमा ओइलायो कि सयपत्री
आफ्नो भन्ने को हुन्छ र पराईभूमिमा
मरे आमा भेट होला अर्को जुनीमा ॥
२०५९-४-१९