Monday, May 4, 2009

किशोर चाम्लिङ

-विक्रम चेतनशील राई
त्यही बाटो हो जहाँ कुनै दिन
हामी सँगै-सँगै हिँडेका थियौं
र त्यही बाटोको चौतारीमा सुस्ताउँथ्यौं
सायद उनको मूलबाटो होइन त्यो
पटक्कै होइन
त्यसैले त उनलाई अचेल त्यता भेटिँदैन
कहिलेकाहीं मेरै बाटोबाट देख्छु उसलाई
उसकै बाटोमा खुइया गर्दै गरेको
यदि हामी सँगै हिँडेको पहिलेको बाटो
त्यतै कतै चौतारीमा भेटियो भने
सोध्न मन लागेको छ
साँच्चै यसपालिको वसन्तमा जुगेपानीतिर
कोइलीहरुले विरह भाका उराल्यो उराले न
किशोर चाम्लिङ ?

थुङ्गे फूल

फुल्दाफुल्दै काँडाबीच हाँसेकै छ थुङ्गे फूल
मनको पीर आकाश होला बाँचेकै छ खुर्पे जून ।

आँधीहुरी खेप्दै जीवन बगिरहन्छ गङ्गा जस्तै
त्रिवेणी भई छुट्छ जीवन देउरालीको ढुङ्गासँगै
माझीविनै मनको जङ्घार तरेकै छ माया फूल
मनको पीर आकाश होला बाँचेकै छ खुर्पे जून ।

दु:ख-सुख इन्द्रेणी हो, नियति हो घामपानी
सम्झनाको चिनो छाडी डुब्छ कतै जिन्दगानी
झर्दाझर्दै गहबाट फुलेकै छ थुङ्गे मन
मनको पीर आकाश होला बाँचेकै छ खुर्पे जून ।।