Tuesday, June 23, 2009

गाउँ छ अध्याँरो

छेउमै बग्छ दूधकोशी गाउँ छ अध्याँरो
दिन बित्छ धाउँदैमा पानी पँधेरो
कहिले होला उज्यालोको जीवन जिउने
आँगनमा धित मरुन्जेल पानी पिउने ।

रातोदिन दुःख गर्‍यो लाग्छ अनिकाल
बर्षौं भयो आङ् फाटेर भाको बेहाल
कहिले होला पेटभरि खान पाउने
नाङ्गो आङमा एकसरो भोटो लाउने ।

घरभित्रै शीत झर्ने अर्धानो छ छानो
दुखियालाई कठै भनी कसले भर्ने मानो
कहिलेसम्म अभावको प्यास पिउने
तिर्खाएको माझी भई जीवन जिउने ।।

भरियाको गीत

बगरको प्यासमा पनि पाइएन पानी पिउन
भरियाको जीवन हजुर गाह्रो भयो जिउन

उकाली र ओरालीमा पसिनाको खेती
आँसु पिउँदै बाँच्नुपर्ने जीवनको नियति
इज्जतको भोटो हजुर सकिएन सिउन
भरियाको जीवन हजुर गाह्रो भयो जिउन

कहिले लेक चढ्दा त कहिले बेंसी झर्दा
सुनसान जंगलभित्र एक्लै बास पर्दा
थोरै पनि सुखको सास सकिएन फेर्न
भरियाको जीवन हजुर गाह्रो भयो जिउन ।।

खोला

मेरो माया बगाइलाने फर्किएन खोला
बगर भई कुर्दाकुर्दै बित्यो थुङ्गे चोला ॥

सम्झनाले पोलिरन्छ दिलको दाँया बाँया
बगिजाने मायालुमै रह्यो गाढा माया
खोलासँगै बगिजाँउ त कहाँ पुग्ने होला
किनार भई रुँदा-रुँदै सुक्यो थुङ्गे चोला ॥

माया भन्नु जीवनभरि दुख्ने घाउ रैछ
मन भन्नु खुशी मर्ने रुखो ठाउँ रैछ
उजाड छ मनको बस्ती आँसु बन्छ खोला
आशै आशमा डुब्दाडुब्दै डुब्यो थुङ्गे चोला ॥
- २०५९-०९-१६

Tuesday, June 2, 2009

चमेली

रचनाः- किशोर चाम्लिङ
संगीत/स्वरः- पावल चाम्लिङ राई

बगैंचाको कुन डालीमा फुल्यौ चमेली
जुहारीमा माया गाँस्ने भुल्यौ हलेसी ।

रनवन शुन्य लाग्छ छैन बाँसुरी
मेलापात पँधेरीमा रुन्छ सारङ्गी
आफैलाई बिर्सिएर भुल्यौ गाउँबेंसी
जुहारीमा माया गाँस्ने भुल्यौ हलेसी ।

बाटो हेर्दै थाकिसके साल्पापोखरी
फर्क अब गोडौं हामी आफ्नै फूलबारी
आफ्नै माटो सँगालेर गरौं लेक-बेंसी
मालाथुम्की साकेला र मेला हलेसी ।