Friday, November 6, 2009

लघुकथा

सम्मान
अकस्मात् ध्यान अडियो चौतारीको ठूलो भीडमा । टाढाबाट हेर्दा कुनै ठूलै समारोह जस्तो लाग्ने त्यो भीड के को हो भनेर हत्तपत्त ठम्याउन मुस्किल छ । कौतुहलता मेट्न छेउमा पुगेर दर्शकदीर्घामा उभिएँ । अब पत्ता लाग्यो गाउँको सम्मान कार्यक्रम पो रहेछ ।
"हाम्री गुरुआमा यो गाउँकै ठूलो मान्छे हुनुहुन्छ । यस गाउँको लागि ठूलो योगदान छ उहाँको । आज उहाँको जित भएको छ । यस गाउँमा सत्यको विजय भएको छ । हामी उहाँको योगदानको उच्च कदर गर्दछौं ।" उदघोषक उदघोष गर्दै थिए । तालीले एकछिन गुन्जायमान बन्यो भीड । भीडको अघिल्तिर फूलमालाको भारी र अबिरले छपक्कै ढाकिएर निकै प्रफुल्लित मुद्रामा गमक्क परेर बसेकी थिइन् एक अधवैंशे महिला । तर यत्तिका सम्मान केका लागि थियो मैले अझै खुट्याउन सकिनँ । मैले आपुनो जिज्ञासा मेटाउन छेउको एकजना भद्रभलाद्मीलाई सोध्न करै लाग्यो ।
अब बल्ल थाहा भयो- यो गाउँको ठूलीमाया दमिनीलाई बोक्सी भनेर कठोर यातना दिँदै मलमुत्र ख्वाएकी थिइन् यिनै गुरुआमाले । त्यसपछि मानवअधिकार हनन्को आरोपमा पक्राउ परेकी तिनै गुरुआमा अदालतको आदेशपछि सामान्य तारिखमा रिहा भइछिन् ।

Monday, August 3, 2009

ढुंगे पँधेरीमा

रचनाः किशोर चाम्लिङ
स्वर/संगीतः- रत्न राई

पहिलो चोटि भेट भयो ढुंगे पँधेरीमा
फूलजस्तै फुल्यौ माया मनको मझेरीमा

गोठाला र खेतालामै बित्छ त्यसै दिन
मेलापातमै साँझ पर्छ छैन अचेल जून
जून बनी छायौ तिमी मनको अँधेरीमा
फूलजस्तै फुल्यौ माया मनको मझेरीमा

गाह्रो हुन्छ एक्लै खेप्न चर्को घामपानी
सुख-दुःख सँगै बाँचौ बाँकी जिन्दगानी
वसन्त भई छायौ तिमी मनको खडेरीमा
फूलजस्तै फुल्यौ माया मनको मझेरीमा ।
२०६३-३-१७

सुनकोशीमा

सुनकोशीमा बाढी आयो पुग्नु थियो धेरै टाढा
मैले हिड्ने बाटोभरि जताततै काँडै काँडा

अँधेरीमा भाले बास्यो अँध्यारै छ वारिपारि
पँधेरीमा मेरी आमा पुगिन् होली कसोगरी
नियतिले पिर्नु पिर्यो दुःखी जुनीमा
चाँडै फर्की आउँछु आफ्नै जन्मभूमिमा ।

भाग्य मेरो पहिरो गयो जिन्दगी भो एक्लो यात्री
चेली रुँदा तिहारमा ओइलायो कि सयपत्री
आफ्नो भन्ने को हुन्छ र पराईभूमिमा
मरे आमा भेट होला अर्को जुनीमा ॥
२०५९-४-१९

Tuesday, June 23, 2009

गाउँ छ अध्याँरो

छेउमै बग्छ दूधकोशी गाउँ छ अध्याँरो
दिन बित्छ धाउँदैमा पानी पँधेरो
कहिले होला उज्यालोको जीवन जिउने
आँगनमा धित मरुन्जेल पानी पिउने ।

रातोदिन दुःख गर्‍यो लाग्छ अनिकाल
बर्षौं भयो आङ् फाटेर भाको बेहाल
कहिले होला पेटभरि खान पाउने
नाङ्गो आङमा एकसरो भोटो लाउने ।

घरभित्रै शीत झर्ने अर्धानो छ छानो
दुखियालाई कठै भनी कसले भर्ने मानो
कहिलेसम्म अभावको प्यास पिउने
तिर्खाएको माझी भई जीवन जिउने ।।

भरियाको गीत

बगरको प्यासमा पनि पाइएन पानी पिउन
भरियाको जीवन हजुर गाह्रो भयो जिउन

उकाली र ओरालीमा पसिनाको खेती
आँसु पिउँदै बाँच्नुपर्ने जीवनको नियति
इज्जतको भोटो हजुर सकिएन सिउन
भरियाको जीवन हजुर गाह्रो भयो जिउन

कहिले लेक चढ्दा त कहिले बेंसी झर्दा
सुनसान जंगलभित्र एक्लै बास पर्दा
थोरै पनि सुखको सास सकिएन फेर्न
भरियाको जीवन हजुर गाह्रो भयो जिउन ।।

खोला

मेरो माया बगाइलाने फर्किएन खोला
बगर भई कुर्दाकुर्दै बित्यो थुङ्गे चोला ॥

सम्झनाले पोलिरन्छ दिलको दाँया बाँया
बगिजाने मायालुमै रह्यो गाढा माया
खोलासँगै बगिजाँउ त कहाँ पुग्ने होला
किनार भई रुँदा-रुँदै सुक्यो थुङ्गे चोला ॥

माया भन्नु जीवनभरि दुख्ने घाउ रैछ
मन भन्नु खुशी मर्ने रुखो ठाउँ रैछ
उजाड छ मनको बस्ती आँसु बन्छ खोला
आशै आशमा डुब्दाडुब्दै डुब्यो थुङ्गे चोला ॥
- २०५९-०९-१६

Tuesday, June 2, 2009

चमेली

रचनाः- किशोर चाम्लिङ
संगीत/स्वरः- पावल चाम्लिङ राई

बगैंचाको कुन डालीमा फुल्यौ चमेली
जुहारीमा माया गाँस्ने भुल्यौ हलेसी ।

रनवन शुन्य लाग्छ छैन बाँसुरी
मेलापात पँधेरीमा रुन्छ सारङ्गी
आफैलाई बिर्सिएर भुल्यौ गाउँबेंसी
जुहारीमा माया गाँस्ने भुल्यौ हलेसी ।

बाटो हेर्दै थाकिसके साल्पापोखरी
फर्क अब गोडौं हामी आफ्नै फूलबारी
आफ्नै माटो सँगालेर गरौं लेक-बेंसी
मालाथुम्की साकेला र मेला हलेसी ।

Monday, May 4, 2009

किशोर चाम्लिङ

-विक्रम चेतनशील राई
त्यही बाटो हो जहाँ कुनै दिन
हामी सँगै-सँगै हिँडेका थियौं
र त्यही बाटोको चौतारीमा सुस्ताउँथ्यौं
सायद उनको मूलबाटो होइन त्यो
पटक्कै होइन
त्यसैले त उनलाई अचेल त्यता भेटिँदैन
कहिलेकाहीं मेरै बाटोबाट देख्छु उसलाई
उसकै बाटोमा खुइया गर्दै गरेको
यदि हामी सँगै हिँडेको पहिलेको बाटो
त्यतै कतै चौतारीमा भेटियो भने
सोध्न मन लागेको छ
साँच्चै यसपालिको वसन्तमा जुगेपानीतिर
कोइलीहरुले विरह भाका उराल्यो उराले न
किशोर चाम्लिङ ?

थुङ्गे फूल

फुल्दाफुल्दै काँडाबीच हाँसेकै छ थुङ्गे फूल
मनको पीर आकाश होला बाँचेकै छ खुर्पे जून ।

आँधीहुरी खेप्दै जीवन बगिरहन्छ गङ्गा जस्तै
त्रिवेणी भई छुट्छ जीवन देउरालीको ढुङ्गासँगै
माझीविनै मनको जङ्घार तरेकै छ माया फूल
मनको पीर आकाश होला बाँचेकै छ खुर्पे जून ।

दु:ख-सुख इन्द्रेणी हो, नियति हो घामपानी
सम्झनाको चिनो छाडी डुब्छ कतै जिन्दगानी
झर्दाझर्दै गहबाट फुलेकै छ थुङ्गे मन
मनको पीर आकाश होला बाँचेकै छ खुर्पे जून ।।

Saturday, April 25, 2009

मोफसलको सिर्जनशीलता

देशको भूगोल राजधानीको चौघेरो मात्रै हो कि भन्ने भ्रम सिर्जना भएको छ मोफसलका सिर्जनशील नवप्रतिभाहरुलाई । राजधानीका स्थापित भनाउँदा सर्जकहरुले सिर्जनात्मक हुनुको मानेमा लालीगुराँस र गामबेंसी शब्दको रटान गरेर जबर्जस्ती सिर्जना गर्छ र प्रतिष्ठित कहलिन्छ । तर गाउँको वास्तविक रङ्गहरुले पोतिएको झर्रो सिर्जनाहरुले राष्ट्रियस्तरका पत्रपत्रिकाहरुमा कुनै स्थान पाउँदैनन् । मोफसल भएर बाँच्नुको तीतो बाध्यता हो यो ।
राजधानीमै मुस्किललले पाइने पाठ्यपुस्तक मोफसलमा सहज रुपमा पढ्न पाइनु भनेको युद्ध जित्नुजत्तिकै हो । अन्य खोजमुलक तथा ज्ञानवद्र्धक पत्रपत्रिकाको कुरा त झन परै रह्यो । केही लेख्न खोज्ने सिर्जनशील साहित्यप्रेमीहरु गन्तव्य खोज्दाखोज्दै बीच बाटोमै अल्मलिएका छन् । सर्जकका उकुसमुकुस मनका भावनाहरु सिर्जना भएर छताछुल्ल पोखिन चाहन्छन् । त्यसैले त गाउँबेंसीका ठूला बाँसका घानाहरुमा ढुङ्गाहरुमा अनि चौतारीका वरपीपलहरुमा गीत मुक्तक कविता सायरीहरु खिपिएका भेटिन्छन् यत्रतत्र । गोठाला गर्दागर्दै ठूल्ठूला चप्लेटी ढुङ्गाहरुमा कोइलाको सहाराले कोरिएका कुण्ठित भावनाहरु प्रष्फुटन गरिएको पनि नपाइने होइन । त्यसो त माटो सम्याएर पनि साहित्य नलेखिएको छैन साहित्यिक तृष्णा मेट्नलाई । यद्यपि यी भावनाहरुको न कदर हुन्छ न अस्थित्व नै । प्रकाशनको ढोकासम्म पुग्ने असामथ्र्यताका कारण कयौं सिर्जनाहरु पानाभरि लेखिन्छन् कोरिन्छन् च्यात्तिन्छन अनि मेटिन्छन् । लेखाई र मेटाईसँग जागरुक मनहरु पनि नामेट हुन्छन् । मोफसल हुनुको नियतिले यसरी कैयौं रहरलाग्दा कोपिलाहरु फुल्ने नपाई भूई झरेका छन् । ती लोभलाग्दा कोपिलाहरुलाई फुल्ने अनुकूल वातावरण निर्माण गर्न नसकिने हो र सबैले सोच्नु जरुरी छ ।
नवप्रतिभाको मात्रै होइन मोफसलका स्थापित लेखक तथा सर्जकहरुले समेत स्थान पाउँदैनन् राष्ट्रियस्तरका पत्रपत्रिकाहरुमा । राष्ट्रियस्तरका मधुपर्क गरिमा मिर्मिरजस्ता साहित्यिक पत्रपत्रिकाहरु रचना प्रकाशन गर्ने अभिप्रायलॆ २ ; ३ घण्टाको पैदल हिँडेर पुगिने हुलाकबाट बारम्बार रचना पठाए पनि प्रकाशित नहुने पीडा पुराने होइन । साहित्य जस्तो गरिमामय क्षेत्रमा समेत नातावाद र कृपावाद हावी भएपछि मोफसल ओझेलमैं हराएको छ । सिर्जना प्रकाशन गर्नको लागि पनि ठूलै चाकडी गर्नुपर्ने लाजमर्दो यथार्थ हावी छ । यसबाट थुप्रै प्रतिभाहरुको घाँटी निमोठिएको छ ।
हामीले बुझ्ने गरेका छौं कि-साहित्य समाजको दर्पण हो । यो भनाई सार्थक हुनको लागि साहित्यमा वैचारिक चेतनाको अपरिहार्यता हुन्छ । यसका लागि सैद्धान्तिक ज्ञान उत्तिकै आवश्यक छ । तसर्थ साहित्यिक सिर्जनामा निरन्तर प्रयास रहे मात्र यसले परिष्कृत हुने मौका पाउँछन् । साहित्यमा रहने वैचारिक स्पष्टता समय सापेक्षता तथा सामाजिक चित्रण र कारक तत्वको पहिचान गरी परिवर्तन र रुपान्तरणको आह्वानले नै समाजलाई सही मार्गमा लैजान अत्यन्त ठूलो महत्व राख्दछ । मोफसलका प्रतिभाहरुको उचित कदर नहुनुले सिर्जनाहरु एकपछि अर्को रुपमा परिष्कृत नभई आफैभित्र बिलाएर जान्छन् । जसबाट समाज सुसुचित बन्न सक्दैन । फलस्वरुप समाज समृद्ध बन्न पनि सक्दैन । तसर्थ यस्ता समस्यालाई गौण लिइनु हुँदैन ।
नवप्रतिभाहरु केही हदसम्म उकेरा लगाउन देशका विभिन्न भागबाट प्रकाशन हुने हवाई पत्रिकाहरुले राम्रै भूमिका खेलेको देखिन्छ । लघु लेख रचनाहरुलाई स्थान दिने हवाई पत्रिकाहरु मोफसलबाट छिटफुट रुपमा प्रकाशित हुँदै आएपनि निरन्तरता दिन सकेको देखिदैंन । मूख्यतः मनोराजनात्मक एवं अश्लील साहित्यिक पत्रपत्रिकाहरुप्रतिको अस्वस्थ आकर्षणको कारण पनि साहित्यिक पत्रपत्रिकाहरु सधैं ओझेलमा पर्दछन् । यसको कारण साहित्यिक पत्रपत्रिकाहरु व्यावसायिक हुन नसकी निरन्तरता पाउन नसकेको तीतो सत्य हामीसामु ज्यूँ का त्यूँ नै छ । जसका लागि चेतनाको विकास गर्न पनि साहित्यले नै भूमिका खेल्नुपर्दछ । तब मात्र समाजमा साहित्यको महत्व र उपादेयता महसुश हुनेछ ।
समाजमा कोही यस्ता मनकारी व्यक्तित्वहरु पनि छन् जो आफ्नो खल्ती रित्याएर साहित्यिक पत्रपत्रिकाहरु प्रकाशन गर्न जागरुक हुन्छन् र अरुलाई प्रोत्साहन दिने गर्छन् । केही लेख्न खोज्नेहरुको लागि यो उच्चतम् सिर्जनशील एवं सामाजिक कर्म हो । मोफसलमा अहिले सामान्यतया साहित्यिक गतिविधिहरु केही रुपमा साचालन हुन थालेको छ । कम खर्चमा पनि निकै ठूलो सिर्जनाशील कर्म बनेको छ भित्तेपत्रिका प्रकाशन । विद्यालयस्तरका विद्यार्थीहरुलाई केही हदसम्म अगाडि बढ्न यो कार्य निकै प्रभावकारी बनेको छ । सिर्जनशील विद्यार्थीलाई प्रोत्साहित गर्न विद्यालयको अतिरिक्त कि्याकलाप अन्तर्गत साहित्यिक कार्यक्रम गोष्ठी लेखन प्रतियोगिताजस्ता कार्यक्रमहरु साचालन नगरिनुले समेत प्रभाव पारेको छ । तसर्थ यस्ता कार्यक्रमका साथै साहित्य लेखन प्रशिक्षण दिन सके प्रतिकूल समयले फुल्न नसकेको थुप्रै मखमलीहरुले फुल्ने उचित वातावरण पाउने छन् । यस तर्पु हाम्रो ध्यान जान सकेमा केही हदसम्म नवप्रतिभाहरुलाई उकेरा लगाउन सकिने कुरामा दुईमत रहने छैन । आजका सिर्जनशील कोपिलाहरु नै भोलिका भूपि शेरचन देवकोटा सम पारिजातहरु हुन् । उनीहरुले कोपिलामै भुइँ झर्नु नपरोस्

हलेसी हवाई पत्रिकाको अन्तरकथा

सानैदेखि रहर थियो-पत्रिकामा नाम छपाउने । बुइपामा पढ्दाखेरि साहित्यिक पत्र हवाई पत्रिका झलक्क देखेथें । साहित्य साचारका लागि हवाई आन्दोलनको अभिप्रायले साहित्यकारद्धय नगेन्द्रराज रेग्मी र विष्णु आभुषणको संयुक्त प्रयासमा प्रकाशित हुने हवाई पत्रिका थियो त्यो । उ बेला गाउँमा कुनै पत्रपत्रिका देख्न पाइन्नथ्यो । त्यस्तै पत्रिकामा नाम छपाउने ठूलै धोको थियो मनमा । केही वर्ष पछि सुदामा हवाई पत्रिकाका सम्पादक दीपेन्द्र दीनदुखीसँग सम्पर्क भयो । पत्रिकाको प्रतिनिधि हुन २५ जना ग्राहक बनाउनुपथ्र्यो । रातारात खटेर २ दिनमै चाहिने जति ग्राहक पुर्याएँ । त्यसपछि एउटा रचना र प्रतिनिधिमा नाम छापिएर पत्रिका गाउँ आइपुग्यो । जीवनमा त्यतिबेला जत्तिको खुशी सायदै मात्र अरु बेला भएँ हुँला । आफ्नो नाम र रचना टोलभरिकालाई देखाएँ सुनाएँ । ठूलै मान्छे भएँ जस्तो लागेथ्यो त्यो बेला । २०५७ सालको मध्यतिर क्याम्पस पढ्ने निहुँमा काठमाडौं छिरियो । त्यतिबेला सकि्रय राईसँग एउटै कोठामा बस्ने मौका मिलेको थियो । उहाँ जागिर गर्नुहुन्थ्यो । मेरो घरबाट पढाई खर्चको लागि थोर बहुत रकम आउँथ्यो । हामी बीच सल्लाह भयो-एउटा हवाई पत्रिका प्रकाशन गर्ने । साहित्यप्रति अभिरुचि र पत्रिका प्रकाशन गर्ने रहर हामीमा उस्तै रह्यो । पत्रिका प्रकाशन गर्ने निश्चयका साथ अग्रजको सम्मान नवप्रतिभाको उत्थानू भन्ने नारा लिएर हामीले प्रकाशन गर्ने पत्रिकाको नाम जुरायौं हलेसी । पत्रिका प्रकाशन गरेर मात्र भएन त्यसलाई गाउँ गाउँसम्म पुर्याउन सके मात्र प्रचार हुने थियो । त्यसका लागि उत्तिकै हुलाक खर्च पनि लाग्ने नै भयो । चिनेजानेका साथीभाइहरु लगायत विभिन्न जिल्लामा पत्रिका पठायौं । सकि्रय जीकै लगानीमा पोष्ट बक्स खोलेका थियौं । पहिलो अंक बाट पोष्ट बाकसभरि प्रतिकि्रया आउँदा दङ्गैं पर्यौं हामी । पहिलो अंकको प्रत्येक अक्षरसमेत केलाएर साहित्यकार गोविन्द विकल ज्यूले धरानबाट निकाल्ने एक्सन टाइम्स साप्ताहिकमा निकै लामो र प्रेरणादायक समीक्षा गरिदिनुभएको थियो । यसले हामीलाई थप हौस्यायो । हलेसीको दोस्रो अंक प्रकाशनपछि पत्रिकाकै प्रवद्र्न गर्ने मनसायले खोटाङ हलेसीमा हलेसी कविता महोत्सवको आयोजना गर्यां । जसमा राजकुमार रम्तेल जीवनजित राई भुवन पारुहाङ तथा अन्य मित्रहरुले सहयोग गर्नुभयो । त्यतिबेला हलेसी क्षेत्रबाटै कविता प्रतियोगिताको लागि लगभग ३०० को हाराहारीमा कविता प्राप्त हुँदा हामी आयोजकलाई छुट्टै गर्वको अनुभूति भएथ्यो । संकटकालमा त्यसरी कार्यक्रम गर्ने प्रशासनबाट मनाही थियो । समयले नपुग्ने भएपछि कतिपय रचनाहरु छनौट गरी वाचनबाट विमुख गराउनु पर्दा हामी पनि दुःखी भयौं । तैपनि कार्यक्रम रातको ९ बजेमात्र समापन भयो । भोलिपल्ट जिल्लाबाट खटिएका सुरक्षा सेनाहरुलाई हामी आयोजकले स्पष्टीकरण दिनुपर्यो । त्यतिबेला सेनाको नमीठो खप्की पनि सह्यौं हामीले । जे भएपनि त्यसबाट ूहलेसीू पत्रिकाको राम्रै प्रचार भयो । गाउँ-गाउँमा पुगेर पत्रिकाको बार्षिक ग्राहक बनाएर कार्यक्रमको खर्च जुटाएका थियौं । लगभग ५०० को हाराहारीमा ग्राहक बनाइएको थियो त्यो बेला ।
कार्यक्रम सकेर काठमाडौं फर्कियां । त्यत्तिका धेरै ग्राहकलाई हामीले जसरी नि एक वर्षसम्म पत्रिका पुर्याउनुपथ्र्यो । ग्राहक शुल्क जति कार्यक्रम गर्नमै सीमित भएपछि खल्ती रित्याउनु बाहेक विकल्प पनि थिएन । पत्रिका प्रकाशन नगरौं त गाउँ फर्किदा बेइमानको बिल्ला लाग्ने डर । रहरले गोठको बहर नै सावित भयो पत्रिका प्रकाशन । त्यसपछि सकि्य राई जी अर्को पत्रिका सूर्योदय प्रकाशनतिर लाग्नुभयो । त्यसपछि त म हलेसी प्रकाशनमा एक्लो जस्तै भएँ । त्यति नै बेला हलेसी कै खोटाङ प्रतिनिधि राजकुमार रम्तेलले मलाई साथ दिनुभयो । बुइपा पढ्दादेखिकॊ मेरो अत्यन्त आत्मीय मित्र हुनुहुन्छ उहाँ ।
राजकुमार रम्तेल जी खोटाङमा र म काठमाडौंमा । प्रकाशनको काममा बढी नै समस्या हुन्थ्यो । उहाँले जिल्लामा बनाउनुभएको पृष्ठभूमि र पहिचानलाई पत्रिका प्रकाशनमा खन्याउनुभयो । गाउँ वडा गाविस लगायत विभिन्न जिल्लामा उहाँले थुप्रै प्रतिनिधि तथा ग्राहक बनाउनुभयो । हलेसीको बार्षिक ग्राहक विभिन्न जिल्ला तथा विदेश अन्तर्गत मलेसिया कतार साउदी अरेबिया गरी लगभग १५०० को हाराहारीमा थिए । त्यसमध्ये अधिकांश खोटाङ जिल्लाबाट नै थियो । मलाई लाग्छ-हवाई पत्रिकाको इतिहासमा सम्भवतः हलेसीले नै बढी ग्राहक पाएको हुनुपर्दछ । त्यति धेरै ग्राहकलाई हुलाकबाट पत्रिका पठाउन साध्य हुंदैनथ्यो । हवाई पत्रिकालाई कुनै सुविधा थिएन । अन्य साधरण चिठीसरह टिकट टाँस्नुपथ्र्यो । १ जना ग्राहकलाई २ रुपैयाको टिकट टाँसेर पठाउनु बडो मुस्किलकै कुरो हो । त्यै पनि हुलाक सुरक्षा पटक्कै थिएन । पत्रिका कतिपय बाटामै बेपत्ता भई सम्बन्धित ग्राहकसम्म पुग्दैनथ्यो । हवाई पत्रिकाको अधिकार स्थापित गर्न स्थापित हवाई साहित्य समाज नेपाल पहिल्यै बेपत्ता भईसकेको थियो । जसोतसो काम गर्दै रह्यौं । पत्रिका शुरुमा द्धैमासिक भएपनि पाठकहरुकॊ सुझाव बमोजिम मासिक बनाएका थियौं । २५ रुपैयाको बार्षिक ग्राहक बनाएर १२ अंक पुर्याउनु कम चुनौतीपूर्ण थिएन । अर्कोतिर टिकट खर्च उत्तिकै लाग्छ । त्यसमाथि हवाई पत्रिकालाई कसले विज्ञापन दिने कतिले त यो मुख्र्याई काम भन्ने गर्थे । हो जस्तो पनि लाग्थ्यो । रकमकै अभावले प्रायः पत्रिका नियमित हुन सक्दैनथ्यो । पत्रिका नियमित नहुँदा सबैभन्दा ठूलो पीडा रम्तेल जीलाई हुन्थ्यो । टिकट खर्च धान्न नसक्ने भएपछि काठमाडौंबाट पत्रिका प्रकाशन गरेर एकमुष्ठ गाउँमै राजकुमार रम्तेल जीलाई पठाउने गरियो । त्यसको सम्पूर्ण भार उहाँमा थोपरियो । काठमाडौंबाट गाउँ जाने मान्छे ढुकेर बस्यो अनि पत्रिका पठायो । कतिले त समयमा नदिई बेपत्ता समेत पार्थे । कतिपय पत्रिकाहरु गाउँ लैजाने मान्छेले बीच बाटामै छोडेर जाने भएकाले पत्रिका लिन रातारात हिँडेर उहाँ घुर्मी बजारसम्म पनि पुग्नुभएको छ । हुलाक खर्च जोगाउन उहाँ ग्राहकको घर-घरमा पुगेर पत्रिका बाँड्नुहुन्थ्यो । त्यो सम्भषदैमा अति पीडादायी लाग्छ मलाई । विभिन्न गाउँ तथा जिल्लाबाट प्राप्त नवप्रतिभाका रचनाहरुलाई सम्पादन गरी आफ्नै हस्ताक्षरमा लेखी काठमाडौं पठाउनुहुन्थ्यो । जिल्लाबाट पत्रिका झोलामा बोकेर रातारात रम्तेल जी हिँड्नुको पछाडि न कुनै आम्दानी थियो न त इज्जत नै । थियो त केवल हामी बीचको असीम मित्रता र संकल्प । बीचमा धेरै मित्रहरुसँग सम्पादन मण्डलमा रहेर काम गरेपनि विविध प्रतिकूलताले त्यो दीगो रहेन । सम्पादक म अनि सह-सम्पादक उँहा रहनुभएपनि जिम्मेवारी उहाँमा बढी नै थियो । आफ्नै खल्ती रित्याएर दित्तेल पुगी मलाई कहिलेकाहिँ फोन गर्नुहुन्थ्यो-किशोर जी पत्रिका आएन भनेर मलाई त कतिले मार्ने धम्की पनि दिइसक्यो कतिपयसँग सम्बन्ध बिच्छेद नै भा छ कतिसँग पानी बाराबार छ हौ के गर्नु म झनै आत्तिन्थें । यस सिलसिलामा उहाँले कति गलत प्रवृत्तिका मान्छेहरु पाउँनुभयो त कति सज्जन । पीडा भोगाइका एउटा दस्तावेज नै सँगालेर उहाँले राख्नु भएको छ भन्ने म महसुश गर्छु । दशैं तिहारमा म गाउँ पुग्ने दिन नै राजकुमार जी मेरो घर आइपुग्नुहुन्थ्यो । हामी रातभर जागा रहेर पत्रिकाकै बारेमा गन्थन गथ्यौं । हलेसीलाई समय सापेक्ष बनाउन हामीले विभिन्न आकारमा विभिन्न बिषेशांकमा पनि प्रकाशन गर्यौं । त्यो पनि आर्थिक हिसाबल सधैं सम्भव भएन । यसरी नै सधैंभरि साध्य नहुने निष्कर्षमा पुगेर हामीलॆ हलेसीलाई जसोतसो २५ अंक रजत सम्म पुर्याएर बन्द गर्ने सल्लाह गर्यौं ॥ २५ अंक केही ठूलो आकारमा रजत अंक दिएर ग्राहकलाई बार्षिक ग्राहकहरुलाई चित्त बुझाउन आग्रह गर्यौं ।
अहिले कतारबासी नेपालीहरुको पहलमा त्यही हलेसी खबरपत्रिकाको रुपमा ३३ अंक पुग्दैछ । हलेसीले कति साहित्यका नवप्रतिभाहरुलाई प्रोत्साहन तथा उकेरा लगाउन सक्यो या सकेन त्यसबारे आम पाठकहरु नै जानकार हुनुहुन्छ । नगेन्द्रराज रेग्मी र विष्णु आभुषणज्यूहरुकै सिको गर्दै साहित्यिक पत्रजस्तै हवाई पत्रिकाको माध्यमबाट देशको कुना-कुनामा रहेका नवप्रतिभाहरुको उत्थान गर्ने ध्येय थियो हलेसीको पनि । यसको विगत सम्झँदा खुशी र दुःख दुवै लाग्छ । राजकुमार रम्तेल जीले कुनै बेला सविस्तार लेख्नुहुने नै छ । हामीले यसबीचमा थुप्रै खुशीहरु पनि संगाल्यौ । विभिन्न राष्ट्रियस्तरका पत्रपत्रिकाहरुमा यसको समीक्षा भएको छ । कतिपय वरिष्ठ व्यक्तिहरुले पनि प्रतिनिधि बनेर हलेसीलाई सघाउनुभएको थियो । धेरैजना साथीभाईहरुसँग चिनजान र मित्रताको माध्यम नै बन्यो हलेसी । त्यसलाई मात्रै सुखद मान्नुपर्दछ । राजकुमार जी भर्खरै राजधानी आउनु भएको मौकामा एकरात सँगैं बसेर हामी संगै हलेसीको अतीत तिर फर्कियां । सबै अतीत सम्झिएर उहाँले सुस्केरा हाल्दै भन्नुभयो- हवाई पत्रिकामा लागेर सुखद-दुखद दुवै अनूभूतिहरु सँगालियो । तर बढी चाहिँ दुखद नै रह्यो । कहिलेकाहिँ त हलेसीमा लागेर मैले आधा जीवन व्यर्थै गुजारें जस्तो पनि लाग्छ हौ किशोर जी । म भावुक मात्रै बन्न सकें ।