Friday, November 6, 2009

लघुकथा

सम्मान
अकस्मात् ध्यान अडियो चौतारीको ठूलो भीडमा । टाढाबाट हेर्दा कुनै ठूलै समारोह जस्तो लाग्ने त्यो भीड के को हो भनेर हत्तपत्त ठम्याउन मुस्किल छ । कौतुहलता मेट्न छेउमा पुगेर दर्शकदीर्घामा उभिएँ । अब पत्ता लाग्यो गाउँको सम्मान कार्यक्रम पो रहेछ ।
"हाम्री गुरुआमा यो गाउँकै ठूलो मान्छे हुनुहुन्छ । यस गाउँको लागि ठूलो योगदान छ उहाँको । आज उहाँको जित भएको छ । यस गाउँमा सत्यको विजय भएको छ । हामी उहाँको योगदानको उच्च कदर गर्दछौं ।" उदघोषक उदघोष गर्दै थिए । तालीले एकछिन गुन्जायमान बन्यो भीड । भीडको अघिल्तिर फूलमालाको भारी र अबिरले छपक्कै ढाकिएर निकै प्रफुल्लित मुद्रामा गमक्क परेर बसेकी थिइन् एक अधवैंशे महिला । तर यत्तिका सम्मान केका लागि थियो मैले अझै खुट्याउन सकिनँ । मैले आपुनो जिज्ञासा मेटाउन छेउको एकजना भद्रभलाद्मीलाई सोध्न करै लाग्यो ।
अब बल्ल थाहा भयो- यो गाउँको ठूलीमाया दमिनीलाई बोक्सी भनेर कठोर यातना दिँदै मलमुत्र ख्वाएकी थिइन् यिनै गुरुआमाले । त्यसपछि मानवअधिकार हनन्को आरोपमा पक्राउ परेकी तिनै गुरुआमा अदालतको आदेशपछि सामान्य तारिखमा रिहा भइछिन् ।

3 comments:

  1. किशोर दाइको यो लघुकथा मैले कुनै चर्चित पत्रिकामा पढेको हुनुपर्छ !

    ReplyDelete
  2. मलाई पनि कताकता त्यस्तै पो लाग्यो हौ !

    ReplyDelete
  3. laghukathakar ko mahatwa badhdai po 6 ta achel, ajhai dherai yestai ramra laghukatha lekhnus hai kishor dai...

    ReplyDelete